दसैँ र तिहारलाई लक्षित गरी जुम्लामा बजार अनुगमनलाई तीव्रता दिइनुका साथै नुनको मौज्दात सुरक्षित गरिएको छ। जिल्ला प्रशासन कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार चन्दननाथ नगरपालिकाभित्रका २५ वटा खुद्रा पसलहरूको अनुगमन गरेको हो। पसलमा सरसफाइको कमी तथा प्रतिबन्धित अखाद्य रङको प्रयोगजस्ता कैफियत भेटिएपछि अनुगमन टोलीले ५२ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरका कमसल, सडेगलेका र म्याद नाघेका सामग्रीहरू नष्ट गरेको छ।
यसैगरी, चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारी आपूर्ति संयन्त्रलाई थप प्रभावकारी बनाइएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनको जुम्ला शाखा कार्यालयले प्रारम्भिक १,८१७ क्विन्टल मौज्दातमध्ये ७६८ क्विन्टल बिक्री गरिसकेपछि हाल १,०४९ क्विन्टल नुन मौज्दात राखेको छ। सिञ्जा, हिमा र कनकासुन्दरी गाउँपालिकाका नागरिकहरूलाई सहज सेवा दिन खलङ्गाबाट नराकोट र गुठीचौर डिपोमा नुन ढुवानी भइरहेको छ।
चालु आर्थिक वर्षमा जुम्लाका डिपोहरूका लागि वार्षिक कोटा निर्धारण नभइसकेकाले सम्भावित अभावलाई रोक्न स्थानीय शाखाले नेपालगन्जबाट थप नुन पठाउन माग गरेको छ। यसका अतिरिक्त, कतिपय स्थानीय तहहरूले जिल्ला सदरमुकामबाटै प्रत्यक्ष नुन खरिद गरी वडा कार्यालयहरूमार्फत वितरण गरिरहेका छन्।