पर्यटन विभागले चालू शरद ऋतु (अटम सिजन) का लागि ६९ देशका ६४८ पर्वतारोहीलाई २० वटा हिमाल आरोहण गर्न अनुमति जारी गरेको छ। यसबाट राज्यलाई करिब २३ करोड ८९ लाख ६० हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ। विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति पाउनेहरूमा ७१ वटा आरोहण दलका ४८५ पुरुष र १६३ महिला छन्।
यस याममा सबैभन्दा बढी आकर्षण मनास्लु हिमालमा देखिएको छ, जहाँ ४३ समूहका ५०० आरोहीले अनुमति लिएका छन्। मनास्लुबाट मात्रै २२ करोड ५८ लाख ५० हजार रुपैयाँभन्दा बढी रोयल्टी उठेको छ, जुन कुल रोयल्टी आम्दानीको ९४ प्रतिशतभन्दा धेरै हो। यस्तै धवलागिरि प्रथम आरोहणका लागि ३४, पुथा हिउँचुलीका लागि २०, डाङ्गा हिउँचुलीका लागि १६ र बरुन्त्सेका लागि १० जनाले अनुमति पाएका छन्।
आरोही संख्याका आधारमा सबैभन्दा ठूलो हिस्सा चिनियाँ नागरिकको छ। चीनबाट ११८ आरोहीले अनुमति लिएका छन् भने त्यसपछि रसियाका ५७, फ्रान्सका ५१ र अमेरिकाका ४१ जना छन्। यस्तै आरोहण दलको सदस्यका रूपमा २० जना नेपाली नागरिकले पनि अनुमति लिएका छन्।